काठमाडौँ । ललितपुरस्थित डीएभी स्कुलको चौथो तलाबाट खसेका एक विद्यार्थीको मृत्यु भएको छ। प्रारम्भिक अनुसन्धानमा आत्महत्याको आशंका गरिएको छ।
चाबहिल निवासी १८ वर्षीय आर्यन सिंहको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन्। घटना सोमबार दिउँसो करिब साढे १२ बजे भएको हो। चौथो तलाबाट खसेका सिंहलाई तत्काल उपचारका लागि सुमेरु सिटी अस्पताल लगिएको थियो, जहाँ साँझ साढे ६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीका प्रारम्भिक अनुसन्धानअनुसार यो आत्महत्याको घटना हुन सक्ने देखिएको छ। स्कुलको सीसीटीभी फुटेजमा पनि उनी आफैं हामफालेको देखिएको प्रहरी स्रोतले जनाएको छ। घटनास्थलबाट सुसाइड नोट समेत फेला परेको छ, जसको फरेन्सिक परीक्षण भने बाँकी रहेको प्रहरीले जनाएको छ।
