काठमाडौँ । देशका अधिकांश क्षेत्रमा मनसुन सक्रिय बन्दै गएको छ। हाल कोशी, मधेश र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुनको प्रभाव देखिएको छ भने अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी चारदेखि पाँच दिनभित्र गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि मनसुन फैलिने सम्भावना रहेको छ। अहिले देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रका साथै कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। यस्तै, कोशी प्रदेशको तराई, मधेशका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावाको लहर चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। त्यसैगरी, कोशी प्रदेशको तराई र मधेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले विशेषगरी कोशी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान तथा सडक यातायातमा पर्न सक्ने प्रभावप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
