महानगरको आफ्नै खाद्य प्रयोगशाला सञ्चालनमा, अनुगमन र परीक्षण अझ प्रभावकारी हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य सुरक्षालाई थप सुदृढ बनाउन अत्याधुनिक खाद्य परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ। बुधबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले प्रयोगशालाको औपचारिक उद्घाटन गरेकी हुन्।

महानगरका अनुसार नयाँ प्रयोगशालाले खाद्य वस्तुको गुणस्तर परीक्षण, निरीक्षण र अनुगमनलाई थप प्रभावकारी बनाउनेछ। यसमार्फत उपभोक्ताले सुरक्षित, स्वच्छ तथा गुणस्तरीय खाद्य सामग्री प्राप्त गर्ने वातावरण सुदृढ हुने अपेक्षा गरिएको छ। महानगरले प्रयोगशालाले उपभोक्ता अधिकारको संरक्षण, खाद्यजन्य रोगको जोखिम न्यूनीकरण तथा खाद्य व्यवसायमा मापदण्ड र गुणस्तर कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यवाहक प्रमुख डङ्गोलले खाद्य अनुगमनका क्रममा संकलित नमुनाको परीक्षणका लागि आफ्नै प्रयोगशाला नहुँदा विभिन्न चुनौती सामना गर्नुपरेको बताइन्।

उनले आवश्यक परीक्षणका लागि बाह्य प्रयोगशालामा निर्भर रहनुपर्ने, त्यसले समय लाग्ने र कानुनी प्रक्रिया अघि बढाउन पनि ढिलाइ हुने अवस्था रहेको उल्लेख गरिन्। डङ्गोलका अनुसार महानगरको आफ्नै प्रयोगशाला सञ्चालनमा आएसँगै प्रारम्भिक चरणका धेरै परीक्षण स्थानीय स्तरमै गर्न सकिनेछ। यसले खाद्य अनुगमनलाई छिटो, सहज र थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा प्रयोगशालाको सेवा र क्षमता अझ विस्तार गरिने जानकारी दिइन्। यो हाम्रो सुरुआती कदम हो। क्रमशः प्रयोगशालाको क्षमता विस्तार गर्दै लैजानेछौँ। अनुगमनका क्रममा नमुना परीक्षण सबैभन्दा महत्वपूर्ण पक्ष हो, र अब आफ्नै ल्याब भएपछि यो प्रक्रिया धेरै सहज र प्रभावकारी बन्नेछ,’ उनले भनिन्।

Back To Top
Modern Footer Design