काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ रहेकाले वर्षाको प्रभाव अझ बढ्ने देखिएको हो।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र, साथै मधेस र कोशीका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा पनि मौसम पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना छ। तराईका धेरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ। त्यस्तै, मधेस प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
