कर्णाली नदी दुर्घटना स् थप दुई जनाको शव फेला, मृतक संख्या तीन पुग्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरास्थित कर्णाली नदीमा गाडी खस्दा बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला परेको छ। बिहीबार साँझ शव भेटिएसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार आफन्तले घटनास्थलमै पुगेर शवको सनाखत गरी जिम्मा लिइसकेका छन्। मृतकको पहिचान कालिकोट पचालझरना गाउँपालिका–९ का जेखे तिरुवा, सोही स्थानका मेखे तिरुवा तथा रास्कोट नगरपालिका–२ की १८ वर्षीया सुजना खड्काको रूपमा भएको प्रहरीले जनाएको छ। यता, गाडी चालक सुर्खेत पञ्चपुरी नगरपालिका–८ का तुलाराम सुवेदी, उनका सहचालक तथा सहोदर भाइ रामु सुवेदीसहित अन्य यात्रुको अवस्था अझै अज्ञात रहेको छ।

बेपत्ता दुवै दाजुभाइका काका दिल्ली सुवेदीले परिवारका मुख्य सहारा नै दुर्घटनामा परेकाले घरपरिवार शोकमा डुबेको बताए। गत बिहीबार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो। सशस्त्र प्रहरी बलको गोताखोर टोलीसहित नेपाल प्रहरी र अन्य सुरक्षा निकायले बाँकी बेपत्ताको खोजी कार्य निरन्तर जारी राखेका छन्।

Back To Top
Modern Footer Design