राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।

वीर अस्पतालको बर्न सेन्टरमा उपचाररत नेपालीको शुक्रबार बिहान ११ः२० बजे मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले जानकारी दिए। बिहीबार आत्मदाहको प्रयास गरेलगत्तै उनको उद्धार गरी वीर अस्पताल भर्ना गरिएको थियो। चिकित्सकका अनुसार उनको शरीरको करिब ५५ देखि ६० प्रतिशत भाग जलेको थियो भने अनुहार, घाँटी र छातीमा गम्भीर चोट पुगेकाले स्वास्थ्य अवस्था सुरुदेखि नै चिन्ताजनक थियो।

शुक्रबार बिहान वीर अस्पतालले पत्रकार सम्मेलनमार्फत उनको अवस्था अत्यन्त गम्भीर रहेको र जुनसुकै बेला थप जटिल हुन सक्ने जनाएको थियो। स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारतको नयाँ दिल्ली लैजाने तयारी गरिएको भए पनि त्यो सम्भव हुन सकेन। अन्ततः चिकित्सकीय प्रयासका बाबजुद उनको ज्यान बचाउन नससकिएको अस्पतालले जनाएको छ।

राहदानी विभागको मुख्य प्रवेशद्वारमै उनले यस्तो कदम किन चाले भन्ने विषय अझै खुल्न सकेको छैन। प्रहरीले पारिवारिक अवस्था, वैदेशिक रोजगारीसँग सम्बन्धित विषय तथा अन्य सम्भावित मानसिक वा आर्थिक कारणबारे अनुसन्धान अघि बढाएको जनाएको छ। मृतक नेपालीको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

Back To Top
Modern Footer Design