गणेश नेपाली प्रकरणमा सरकारसँग थापाको प्रश्न

काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाबारे सरकारसँग जवाफ माग गरेकी छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिन्। उनले यस्तो दुःखद घटना हुँदा पनि सरकार मौन बसेको भन्दै असन्तुष्टि जनाइन्। थापाले २०७९ माघ १० गते संसद् भवनअगाडि प्रेम आचार्यले आत्मदाह गरेको घटनालाई स्मरण गर्दै त्यतिबेला विपक्षमा रहँदा उठाइएका प्रश्नहरूको जवाफ अहिले सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्रीले दिनुपर्ने समय आएको बताइन्।

उनले नागरिकका समस्या समाधानमा राज्य गम्भीर नबन्दा आत्मदाहजस्ता घटनाहरू दोहोरिन थालेको टिप्पणी गरिन्। साथै, गणेश नेपालीको उद्धार प्रक्रिया प्रभावकारी भए–नभएको विषयमा पनि प्रश्न उठाउँदै घटनास्थलमा घाइतेलाई उद्धार गर्ने तरिकामाथि छानबिन आवश्यक रहेको धारणा राखिन्। थापाले गणेश नेपालीले कुनै आपराधिक गतिविधि नगरेको उल्लेख गर्दै राज्यको पहिलो दायित्व नागरिकको जीवन रक्षा र उनीहरूका समस्या समयमै सम्बोधन गर्नु भएको बताइन्।

पछिल्ला वर्षहरूमा आर्थिक, सामाजिक तथा प्रशासनिक समस्याका कारण नागरिक चरम कदम चाल्न बाध्य भएको उल्लेख गर्दै उनले सरकारले यसतर्फ गम्भीर ध्यान दिनुपर्ने बताइन्। उनले नागरिकमा राज्यप्रतिको विश्वास कायम राख्न न्याय, सुशासन, रोजगारीको अवसर र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न सरकारलाई आग्रह गरिन्। साथै, सवारी साधनमा लगाइने जरिवाना र नागरिकसँग प्रत्यक्ष जोडिएका सरकारी नीतिहरू नागरिकमैत्री छन् वा छैनन् भन्ने विषयमा पनि पुनरावलोकन गर्न सरकारको ध्यानाकर्षण गराइन्।

Back To Top
Modern Footer Design