काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी बसपार्कमै होल्ड

काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न स्थानमा पहिरोको जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाका बन्द गरिएको छ।

जोखिमलाई मध्यनजर गर्दै लामो दूरीका सवारी साधनलाई बसपार्क तथा अन्य निर्धारित स्थानमै होल्ड गरिएको छ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुंगा, साँगा र फर्पिङ हुँदै बाहिरिने सवारी साधनको आवागमन तत्कालका लागि रोकिएको छ। चितवनको केराबारी र तुइनखोला क्षेत्रमा पहिरो खसेपछि नागढुंगा–मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ।

यस्तै, बीपी राजमार्गअन्तर्गत रोशी खोलामा पानीको बहाव बढ्नुका साथै मंगलटार क्षेत्रमा लेदोसहितको पहिरो गएपछि उक्त सडकमा पनि सवारी सञ्चालन रोकिएको छ। फर्पिङ–फाखेल–सिन्नेरी हुँदै हेटौंडा जाने सडक तथा कान्तिपथको पाङ्दुरे र टाकुन्जे क्षेत्र पनि पहिरोका कारण बन्द रहेका छन्।

हिजो रातिदेखि नै रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो भने आज बिहानसम्म पनि लामो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन्। सम्बन्धित निकायले सडकको अवस्था र जोखिमको निरन्तर मूल्याङ्कन गरिरहेको जनाएको छ।

यात्रुहरूलाई अनावश्यक यात्रा नगर्न तथा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे अद्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

Back To Top
Modern Footer Design