काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवाको सहभागिता बढाउने उद्देश्यले संगठनात्मक संरचनामै सुधार गरिएको बताएका छन्।
आइतबार ४४औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले प्रत्येक वडाबाट चयन हुने प्रतिनिधिमध्ये ३० वर्षमुनिका युवाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी दिए। उनका अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका कम्तीमा तीन जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था गरिएको छ। यसका लागि महाधिवेशन प्रतिनिधिको संख्या २५ बाट बढाएर ३१ पुर्याइएको उनले बताए।
थापाले पार्टीभित्र नयाँ पुस्तालाई अवसर दिने र अनुभवी नेताहरूको सम्मानलाई सँगसँगै अघि बढाउने नीति लिइएको उल्लेख गरे। उनका अनुसार अहिले नेपाली कांग्रेसमा चार पुस्ताका नेता–कार्यकर्ता एकैसाथ सक्रिय रहेकाले सबैलाई समेट्ने वातावरण निर्माण गर्नु आवश्यक छ। उनले पार्टीको केन्द्रीय समितिमा समेत नयाँ पुस्ताको सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरिएको बताउँदै युवा नेतृत्वलाई अघि बढाउने अभियान निरन्तर रहने बताए। थापाले नेपाली कांग्रेस देशभरका विभिन्न जातजाति, भाषा, संस्कृति र समुदायलाई जोड्ने राष्ट्रिय राजनीतिक शक्ति भएको उल्लेख गर्दै अब सबै पुस्तालाई पनि एउटै साझा मञ्चमा जोड्ने पार्टीका रूपमा आफूलाई थप स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए।
