काठमाडौँ । फिफा विश्वकप २०२६ विश्व फुटबल महासंघ (फिफा)का लागि अहिलेसम्मकै सबैभन्दा सफल आर्थिक प्रतियोगिता बनेको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोका अनुसार प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको छ, जुन प्रतियोगिता सुरु हुनुअघि गरिएको ११ अर्ब डलरको अनुमानभन्दा निकै बढी हो।
फिफाले आफ्ना सदस्य राष्ट्रका फुटबल संघहरूलाई दिएको जानकारीअनुसार टिकट बिक्री, हस्पिटालिटी प्याकेज तथा दोस्रो बजार (सेकेन्डरी मार्केट) मा टिकट किनबेचबाट अपेक्षाभन्दा धेरै आम्दानी भएको हो। सेकेन्डरी बजारमा टिकट कारोबार हुँदा फिफाले खरिदकर्ता र विक्रेता दुवैबाट १५–१५ प्रतिशत सेवा शुल्क लिने व्यवस्था रहेको छ।
यो ऐतिहासिक आम्दानीसँगै विश्वभरका सदस्य फुटबल संघहरूले आगामी दिनमा थप आर्थिक सहयोग प्राप्त गर्ने अपेक्षा गरिएको छ। यद्यपि, उक्त रकम कुन मापदण्डका आधारमा र कति वितरण गर्ने भन्ने विषयमा फिफाले अझै औपचारिक निर्णय सार्वजनिक गरेको छैन। विश्वकप आयोजनाका क्रममा विभिन्न विवादका कारण आलोचनाको सामना गरेका फिफा अध्यक्ष इन्फान्टिनोका लागि यो आर्थिक उपलब्धि ठूलो सफलताका रूपमा हेरिएको छ।
आगामी मार्चमा हुने फिफा अध्यक्षको निर्वाचनअघि उनले २०० भन्दा बढी सदस्य राष्ट्रको समर्थन सुरक्षित गरिसकेको बताइएको छ। विश्वकपबाट भएको उच्च आम्दानीका कारण थप अनुदानको अपेक्षामा रहेका धेरै सदस्य संघले पनि हालसम्म सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छैनन्। यता, विश्वकपको आर्थिक सफलताले भविष्यमा अमेरिकाले पुनः विश्वकप आयोजना गर्ने सम्भावना अझ बलियो बनेको विश्लेषण गरिएको छ। सन् २०३८ को विश्वकप आयोजनाका लागि चाँडै बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिका फेरि विश्वकप आयोजना गर्न इच्छुक रहेको बताएका छन्। एक कार्यक्रममा उनले अमेरिकाले पुनः विश्वकप आयोजना गर्ने चाहना व्यक्त गर्दै यसपटक क्यानडा र मेक्सिकालाई सह–आयोजक नबनाउने धारणा सार्वजनिक गरेका छन्।
