कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहँदा आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ। यसको प्रभावका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। केही स्थानमा हल्कादेखि मध्यम वर्षासमेत भइरहेको विभागले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ भने हिमाली भेगका केही स्थानमा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ। तराईका विभिन्न क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।

विशेषगरी बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको क्रम जारी रहने पूर्वानुमान गरिएको छ। भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र र पहिरोको जोखिम रहेका स्थानमा विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा अद्यावधिक गर्न पनि विभागले अनुरोध गरेको छ।

Back To Top
Modern Footer Design