बीपीले समावेशी लोकतन्त्रलाई व्यवहारमै उतारेका थिएः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलहरूले नागरिकका जीवनसँग प्रत्यक्ष जोडिएका महत्त्वपूर्ण विषयमा पर्याप्त बहस गर्न नसकेको बताएका छन्।

४४औँ बीपी स्मृति दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले जननेता बीपी कोइरालाले समावेशी लोकतन्त्रको अवधारणालाई केवल सिद्धान्तका रूपमा नभई व्यवहारमै लागू गरेर देखाएको बताए। थापाले सामाजिक न्याय, मानव कल्याण, नैतिक मूल्य र जनहितलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा बीपीले स्थापित गरेको उल्लेख गरे। यी पक्षलाई बेवास्ता गरेर गरिने विकास दिगो हुन नसक्ने सन्देश बीपीले आफ्नो राजनीतिक अभ्यासबाट दिएको उनको भनाइ थियो। उनले भने, ‘सामाजिक न्याय, मानव कल्याण, जनताको हित र नैतिक मूल्यलाई छाडेर गरिएको विकास दिगो हुन सक्दैन। बीपीले यी विषयमा केवल भाषण मात्र गर्नुभएन, व्यवहारमै लागू गरेर देखाउनुभयो।’ थापाका अनुसार बीपीको विश्वास थियो कि सबै समुदायको समान सहभागिताबिना लोकतन्त्र पूर्ण हुन सक्दैन। त्यसैले उनले महिलादेखि दलित र विभिन्न जातजाति तथा भाषिक समुदायका प्रतिनिधिलाई राज्य सञ्चालन र पार्टी नेतृत्वमा अवसर दिएका थिए।

दक्षिण एसियामा महिलाको राजनीतिक सहभागिता अत्यन्त सीमित रहेको समयमा बीपीले मन्त्रिपरिषद्मा महिलालाई स्थान दिएको, दलित नेतालाई पार्टीको महामन्त्री बनाएको तथा विविध समुदायका व्यक्तिलाई संसद् र सरकारमा सहभागी गराएको उल्लेख गर्दै थापाले बीपीले समावेशी लोकतन्त्रको उदाहरण प्रस्तुत गरेको बताए। उनले जलवायु परिवर्तनको अवधारणा त्यतिबेला व्यापक रूपमा चर्चामा नआए पनि बीपीले विकासलाई मानव कल्याण, सामाजिक न्याय र नैतिक जिम्मेवारीसँग जोडेर दिगो विकासको सोच अघि सारेको बताए। थापाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले अघि सारेका लोकतान्त्रिक मूल्य, समावेशी शासन र सामाजिक न्यायका सिद्धान्तहरू आज पनि उत्तिकै सान्दर्भिक र मार्गदर्शक रहेको धारणा व्यक्त गरे।

Back To Top
Modern Footer Design