डिम्याट खाता ८० लाख नाघ्यो, करिब २९ लाख खाता अझै निष्क्रिय

काठमाडौँ । नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाखभन्दा बढी पुगेको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ८० लाख ९ हजार ६२३ वटा डिम्याट खाता दर्ता भएका छन्।

यद्यपि, एउटै व्यक्तिले एकभन्दा बढी डिम्याट खाता खोल्न सक्ने व्यवस्थाका कारण कुल खाताको संख्या वास्तविक लगानीकर्ताभन्दा बढी देखिएको हो। तथ्यांकअनुसार सक्रिय मेरो सेयर प्रयोगकर्ताको संख्या ५१ लाख ४८ हजार ८९४ रहेको छ। यस आधारमा करिब २९ लाख डिम्याट खाता हाल निष्क्रिय अवस्थामा रहेको देखिन्छ। सीडीएसका अनुसार हालसम्म १८ अर्ब ६० करोड २९ लाख ५८ हजार ७८२ कित्ता सेयर डिम्याट प्रणालीमा रूपान्तरण भइसकेका छन्।

तर, नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कुल १९ अर्ब २७ करोड ६४ लाख हजार ६९८ कित्ता सेयरमध्ये अझै ६७ करोड ३५ लाख २९ हजार ९१६ कित्ता सेयर डिम्याट हुन बाँकी छ। डिम्याट हुन नसकेका ती सेयर प्रमाणपत्रकै रूपमा रहेको वा हराएको तथा नष्ट भएको हुन सक्ने अनुमान गरिएको छ। डिम्याट प्रणाली लागू भएपछि सेयर कारोबारलाई सुरक्षित, छरितो र कागजरहित बनाउन सहयोग पुगेको भए पनि अझै ठूलो परिमाणमा सेयर प्रमाणपत्र डिम्याट प्रक्रियामा आउन बाँकी रहेको तथ्यांकले देखाएको छ।

Back To Top
Modern Footer Design