हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार घटनास्थल वरपर रगत देखिएकाले घटनालाई शंकास्पद मान्दै विस्तृत अनुसन्धान अघि बढाइएको छ। अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको छ। प्रारम्भिक अनुसन्धानबाट मृतक थाहा नगरपालिका–१० निवासी ४१ वर्षीय आश्मान गोपाली रहेको खुलेको प्रहरीले जनाएको छ। उनी साविक चित्लाङ गाविस–६ का बासिन्दा हुन्।
घटनाबारे मृतकका आफन्तलाई जानकारी गराइसकिएको प्रहरीले जनाएको छ। आइतबार बिहान करिब ८ः३० बजे बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धानमा सहयोग गरिरहेको छ। मृत्युको कारण तत्काल खुल्न नसकेको र घटनाका सबै पक्षबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
