बागलुङ। बागलुङको बडिगाड गाउँपालिका–१ मा मोबाइल फोनको विषयमा भएको विवादले १७ वर्षीय किशोरको ज्यान गएको खुलेको छ। प्रहरीका अनुसार लजिन थापाको हत्या उनकै साथीहरूले कुटपिट गरेर गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
साउन १ गते साथी असिम वनको जन्मदिन मनाउन गएका लजिनको शव बिहीबार स्थानीय मनखोलामा फेला परेको थियो। घटनामा संलग्न रहेको आरोपमा २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददी परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जन्मदिनको कार्यक्रममा सहभागी साथीहरूले रातिसम्म मदिरा सेवन गरेका थिए। घर फर्किने क्रममा लजिनसँग रहेको आइफोन माग्दा उनले दिन नमानेपछि विवाद सुरु भएको र त्यसपछि कुटपिट भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंका अनुसार कुटपिटबाट लजिन बेहोस भएपछि उनको मृत्यु भएको र घटनालाई लुकाउन शवलाई घटनास्थलबाट केही दूरीमा लगेर फालिएको अवस्थामा फेला पारिएको हो। अनुसन्धानका क्रममा जन्मदिन कार्यक्रममा सात जना सहभागी रहेको र एक जना ९ वर्षीय बालक पनि त्यहाँ उपस्थित रहेको खुलेको प्रहरीले जनाएको छ। लजिन सम्पर्कविहीन भएपछि प्रहरीले तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरा तथा प्राविधिक उपकरणको प्रयोग गरेर खोजी अभियान सञ्चालन गरेको थियो। त्यसक्रममा उनको शव फेला परेको हो।
पक्राउ परेका चार जनाविरुद्ध व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। काठमाडौँको धुम्बाराहीस्थित साइपाल कलेजमा कक्षा ११ मा अध्ययनरत लजिन केही दिनअघि बिदा मनाउन घर आएका थिए। साथीको जन्मदिन मनाउन गएका उनी आफ्नै साथीहरूको कुटपिटबाट ज्यान गुमाउन पुगेका हुन्।
