काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ। शनिबार भारत प्रस्थान गर्ने तयारी भए पनि भ्रमण आइतबारका लागि सारिएको थियो। तर, आइतबार पनि उनी भारत नगएको कांग्रेसले जनाएको छ।
भारतको नयाँदिल्लीमा आयोजना हुने नेपाली जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन थापा जाने कार्यक्रम तय भएको थियो। आवश्यक तयारी पूरा भइसके पनि अन्तिम समयमा भ्रमण स्थगित गरिएको हो। कांग्रेसका प्रवक्ता देवराज चालिसेले भ्रमण स्थगित भएको पुष्टि गर्दै यसका पछाडि आन्तरिक तथा प्राविधिक कारण रहेको बताए। यद्यपि, स्थगनको विस्तृत कारणबारे उनले थप जानकारी दिएनन्।
उनका अनुसार थापाको भारत भ्रमणका लागि नयाँ मिति पनि हालसम्म तय गरिएको छैन। यद्यपि, भ्रमण स्थगित हुनुको वास्तविक कारणबारे कांग्रेसले औपचारिक धारणा सार्वजनिक गरेको छैन। पार्टीभित्रको आन्तरिक मतभेद यसको प्रमुख कारण हुन सक्ने चर्चा राजनीतिक वृत्तमा भइरहेको छ। स्रोतका अनुसार विदेशस्थित जनसम्पर्क समितिको महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएपछि पार्टीको संस्थापन पक्ष र इतर समूहबीच मतभेद बढ्दै गएको छ। यहीबीच थापा र नेता पूर्णबहादुर खड्का पक्षले देशव्यापी राजनीतिक अभियानलाई पनि निरन्तरता दिइरहेका छन्।
