प्रवासी नेपालीलाई अर्थमन्त्रीको आह्वान,नेपालको विकासमा लगानी बढाउन आग्रह

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई मातृभूमिको आर्थिक विकासमा सक्रिय रूपमा लगानी गर्न आग्रह गरेका छन्।

शनिबार अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीहरूसँग भर्चुअल माध्यमबाट भएको छलफलमा उनले सरकारले प्रवासी नेपालीलाई विकास साझेदारका रूपमा हेरेको उल्लेख गर्दै नेपालको आर्थिक समृद्धिमा योगदान गर्न आह्वान गरेका हुन्।

अर्थमन्त्रीको निजी सचिवालयका अनुसार वाग्लेले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकारको नीतिप्रति विश्वस्त रहन आग्रह गर्दै विदेशमा रहेका नेपालीहरू मुलुकका असल प्रतिनिधि र सद्भावनादूत भएको बताए। उनले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन बजेटमार्फत कर, राजस्व तथा उद्योग–व्यवसायमैत्री विभिन्न नीति लागू गरेको उल्लेख गर्दै नेपालमा लगानीका लागि वातावरण अनुकूल बन्दै गएको बताए।

विदेशबाट गरिएको लगानीको प्रतिफल सहज रूपमा फिर्ता लैजान सकिने व्यवस्था गरिएको स्पष्ट पार्दै उनले एनआरएनए बन्ड, अफसोर बन्ड तथा वैकल्पिक वित्त परिचालनजस्ता योजनाहरू प्रवासी नेपालीको लगानी आकर्षित गर्ने उद्देश्यले अघि सारिएको जानकारी दिए। अर्थमन्त्री वाग्लेले नेपालमा लगानी विस्तार गरी रोजगारी सिर्जना, उत्पादन वृद्धि र आर्थिक विकासमा प्रवासी नेपालीको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे।

Back To Top
Modern Footer Design