रोल्पा । रोल्पाको थवाङ गाउँपालिका–५, कोटलबारा गाउँमा गएको पहिरोमा परी बेपत्ता भएका थप पाँच जनाको शव छिमेकी जिल्ला प्युठानमा फेला परेको छ।
यससँगै पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार बुधबार राति पहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए। उनीहरूको शव बिहीबार प्युठानस्थित नदी किनारका विभिन्न स्थानमा फेला परेको हो।
प्रहरीका अनुसार मृतकहरू थवाङ गाउँपालिका–५ का ३८ वर्षीया जुनकुमारी पुन मगर, ५ वर्षीय अशोक पुन मगर, ८० वर्षीय बलबहादुर पुन मगर, ६६ वर्षीया मनी पुन मगर र ३४ वर्षीय महेन्द्र घर्ती रहेका छन्। सबै शवको पहिचान भइसकेको प्रहरीले जनाएको छ। पहिरोमा परी अझै तीन जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
