काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आइतबार विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना उच्च रहेको छ। महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी र कर्णालीका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै कोशी र बागमतीका पहाडी तथा हिमाली भूभागमा पनि केही स्थानमा वर्षा हुनसक्ने जनाइएको छ।
लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा धेरै स्थानमा तथा बागमती र गण्डकीका तराई भूभागमा केही स्थानमा वर्षाको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा पनि थोरै स्थानमा वर्षा हुनसक्नेछ। गण्डकी र कर्णालीका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रमा केही स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। यस्तै, आज राति पनि देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा समेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
