काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यससँगै गएको पहिरोबाट ठूलो जनधनको क्षति भएको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीले बगाएर ल्याएका तथा प्रभावित विभिन्न स्थानबाट हालसम्म १६२ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा ६४ जनाको शव फेला परेको छ। यस्तै, धादिङमा २७, नवलपरासीमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९ तथा रसुवा र नवलपरासी पश्चिममा २–२ जनाको शव भेटिएको छ।
बाढी तथा पहिरोमा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये त्रिवि शिक्षण अस्पतालमा २० जना, त्रिशूली अस्पतालमा ९ जना उपचाररत छन्। अन्य घाइतेको ट्रमा सेन्टर, वीर अस्पताल, सैनिक अस्पताल, ग्रिन सिटी र नर्भिक अस्पतालमा उपचार भइरहेको छ। उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन ३ हजार ३१८ जना प्रहरी कर्मचारी प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। बेपत्ता भएकाहरूको खोजीका लागि सुरक्षा निकायले हेलिकोप्टरसँगै पैदल टोली परिचालन गरी खोजी कार्य जारी राखेको जनाएको छ।
