काठमाडौँ । नेपालमा पछिल्लो समय आएको बाढीपहिरोपछि दुई नदीको संगमस्थलमा ठूलो प्राकृतिक बाँधसहितको ताल बनेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उक्त ताल आगामी तीन दिनभित्र फुट्न सक्ने जोखिम उच्च रहेको छ।
चिनियाँ केन्द्रीय टेलिभिजन (सीसीटीभी) का अनुसार छोछेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिकै बनेको उक्त प्राकृतिक तालमा बिहीबार बिहानसम्म करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ। तालबाट पानी बाहिरिन थाले पनि आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरिएको छ।
पानीको मात्रा बढ्दै गएमा प्राकृतिक बाँध भत्किएर अचानक ठूलो बाढी आउन सक्ने भएकाले जोखिम उच्च रहेको चिनियाँ पक्षले चेतावनी दिएको छ।
चीनले गरिरहेको छ निरन्तर निगरानी
चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। प्राकृतिक बाँध फुटेमा बाढीको बहाव कुन दिशातर्फ र कति तीव्र गतिमा पुग्न सक्छ भन्नेबारे विभिन्न सिमुलेसन तथा विश्लेषणमार्फत अध्ययन भइरहेको बताइएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै आकस्मिक उद्धार तथा राहतका लागि आवश्यक तयारीसमेत भइरहेको मन्त्रालयले जनाएको छ।
सीमा क्षेत्रमा उद्धार तथा राहत तीव्र
नेपाल–चीन सीमा क्षेत्रमा नेपालतर्फबाट आएको विनाशकारी पहिरोका कारण चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत क्यिरोङ बन्दरगाह आसपासमा समेत ठूलो क्षति पुगेको बताइएको छ।
क्षति पुगेका क्षेत्रमा चिनियाँ जनमुक्ति सेना, आपत्कालीन उद्धारकर्मी, इन्जिनियरिङ टोली, दूरसञ्चार कम्पनी तथा विभिन्न राहत संस्थाले उद्धार तथा राहत कार्य अघि बढाइरहेका छन्। दुर्गम भूगोल, लगातारको वर्षा र थप प्राकृतिक विपद्को सम्भावनाका कारण उद्धार तथा राहत कार्य चुनौतीपूर्ण बनेको चिनियाँ पक्षले जनाएको छ।
