चीनले पूर्वसूचना नदिएको आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपाल–चीन सीमास्थित रसुवागढी–केरुङ क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबारे चीनले नेपाललाई समयमै पूर्वसूचना नदिएको भन्ने आरोपप्रति नेपालस्थित चिनियाँ दूतावासले आपत्ति जनाएको छ।

दूतावासले उक्त आरोपलाई भ्रामक र असत्य भन्दै चिनियाँ पक्षबाट नेपालमा लगाइएका दुई प्रमुख आरोप तथ्यहीन रहेको दाबी गरेको हो। दूतावासले सार्वजनिक गरेको स्पष्टीकरणमा ती आरोपलाई ‘फेक न्युज’ भन्दै खण्डन गरिएको छ। चिनियाँ दूतावासका अनुसार चीनले नेपाललाई पूर्वचेतावनी नदिएका कारण ठूलो मानवीय क्षति भएको तथा चीनतर्फ रहेको कुनै भौगर्भिक विपद् बाँध भत्किएपछि त्यसको असरले नेपालमा ठूलो क्षति पुगेको भन्ने दुवै दाबी गलत हुन्।

चिनियाँ पक्षको दाबी के छ ?

दूतावासले सार्वजनिक गरेको विवरणअनुसार २६ अगस्ट २०२६ को बिहान नेपालतर्फ नै भूकम्प वा त्यसकै झड्काजस्तो हिमपहिरो गएको थियो। त्यसपछि ठूलो पहिरो निम्तिएर रसुवागढी–केरुङ सीमाक्षेत्रमा बाढी तथा क्षतिको अवस्था सिर्जना भएको चिनियाँ पक्षको दाबी छ।उक्त प्राकृतिक विपत्तिबाट नेपाल र चीन दुवैतर्फ ठूलो क्षति भएको तथा मानिसहरू बेपत्ता भएको दूतावासले जनाएको छ।

विपद्को यस्तो संवेदनशील अवस्थामा एकअर्कामाथि दोष थोपर्नुभन्दा उद्धार तथा राहत कार्यमा सहकार्य गर्नुपर्नेमा चिनियाँ दूतावासले जोड दिएको छ। दूतावासले ‘आरोपले केही समाधान दिँदैन, सहकार्यले जीवन बचाउँछ’ भन्दै विपत्तिको सामना गर्न दुवै पक्षबीच सहकार्य आवश्यक रहेको सन्देश दिएको छ।

Back To Top
Modern Footer Design