काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानभन्दा केही उत्तर र पूर्वतर्फ औसत स्थानकै आसपास रहेको छ। यसको प्रभावले देशका अधिकांश भूभागमा मौसम बदली भएको छ भने केही स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ। हिमाली तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुनसक्ने विभागले जनाएको छ।
त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा धेरै स्थानमा तथा कोशी र मधेश प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागसँगै कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। आज राति पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागमा समेत केही स्थानमा मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ। रातिको समयमा कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
