काठमाडौं । भोटेकोशी बाढीपछि विभिन्न स्थानबाट संकलन गरिएका शव कुहिन थालेपछि तिनको सुरक्षित व्यवस्थापन सरकारका लागि चुनौती बनेको छ।
शवलाई सुरक्षित राख्न कम्तीमा एक हजार जनाको क्षमता भएको फ्रिजर तथा पर्याप्त डीएनए परीक्षण किट आवश्यक रहेको भन्दै सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि विभिन्न देशसँग आग्रह गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले अहिले शव व्यवस्थापन र पहिचान सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए। उनका अनुसार लामो समयसम्म शव सुरक्षित राख्न नसक्दा डिकम्पोज हुन थालेकाले जनस्वास्थ्यको जोखिमसमेत बढेको छ।
पहिचान हुन नसकेका, क्षतविक्षत तथा सड्न थालेका शवबाट अन्तर्राष्ट्रिय रेडक्रसको मापदण्डअनुसार डीएनए नमुना संकलन गरी अस्थायी रूपमा सुरक्षित स्थानमा गाड्ने व्यवस्था मिलाइएको राईले जानकारी दिए। उनका अनुसार प्रत्येक शवको डीएनए नमुना सुरक्षित राखिने भएकाले भविष्यमा परिवारका सदस्यले चाहेमा पहिचान गरी धार्मिक संस्कारलगायत आवश्यक प्रक्रिया अघि बढाउन सकिनेछ।
शव व्यवस्थापनका लागि आवश्यक फ्रिजर र डीएनए परीक्षण सामग्री उपलब्ध गराउन सरकारले अस्ट्रेलिया, खाडी मुलुक तथा युरोपेली संघलगायत विभिन्न देशसँग सहयोग मागेको छ। यसअघि दुई हजार वटा एयरटाइट ब्याग प्राप्त भइसकेको पनि राईले बताए। यसैबीच, बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि करिब १९ हजार सुरक्षाकर्मी र १६ वटा हेलिकोप्टर परिचालन गरिएको छ। उद्धार कार्यमा सहयोग गर्न भारत, चीन र दक्षिण कोरियाका सुरुङ उद्धार विशेषज्ञसमेत प्रभावित क्षेत्रमा खटिएका छन्।
