काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि सिर्जित विपद्को व्यवस्थापनमा सरकारलाई आवश्यक सबै सहयोग गर्न कांग्रेस तयार रहेको बताएका छन्।
यद्यपि, प्रमुख प्रतिपक्षी दलका रूपमा सरकारको काममा देखिएका कमजोरी औँल्याउनु र सुधारका लागि सुझाव दिनु पनि आफ्नो जिम्मेवारी भएको उनले बताए। भोटेकोशी बाढीपछि कांग्रेसले गरिरहेको उद्धार तथा राहतका काम र आगामी योजनाबारे आयोजित छलफलमा थापाले संकटको समयमा सरकारसँग सहकार्य गरेर अघि बढ्नु राजनीतिक दलको जिम्मेवारी भएको बताए।
उनले विपद्का बेला कांग्रेस सरकारको साथमा रहेर आवश्यक सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए। ‘विपद्को समयमा नेपाली कांग्रेस सरकारसँग काँधमा काँध मिलाएर अघि बढ्छ। सरकारलाई पूर्ण रूपमा साथ दिनु हाम्रो कर्तव्य हो। हामीले गरिरहेका छौँ र अझै गर्नुपर्ने काम गर्छौँ,’ थापाले भने। तर सरकारलाई सहयोग गर्नुका साथै उसले गरेका कमजोरीबारे सचेत गराउनु पनि प्रतिपक्षको भूमिकाभित्र पर्ने उनको भनाइ छ।
‘सरकार कहाँ चुकेको छ, त्यो देखाउनु पनि हाम्रो जिम्मेवारी हो। कहाँ कमजोरी भएको छ र कहाँ सुधार गर्नुपर्ने आवश्यकता छ, त्यो बताउनु पनि हाम्रो दायित्व हो,’ उनले भने। सरकारको काममा भएका कमजोरीबारे खबरदारी नगरे प्रभावित नागरिकका वास्तविक समस्या राज्यका सम्बन्धित निकायसम्म पुग्न नसक्ने थापाले बताए। ‘यी विषय उठाइएनन् भने सरकार एकोहोरो ढंगले अघि बढ्न सक्छ। त्यसो हुँदा भुइँतहका नागरिकका समस्या सरकारसम्म पुग्दैनन्,’ उनले भने।
थापाले कांग्रेसले यसअघि सरकारसमक्ष बुझाएको नौबुँदे ध्यानाकर्षणलाई पुनः प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए। विपद् व्यवस्थापनका क्रममा ती सुझावलाई सरकारले गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्ने उनले बताए। उनले विपद्को समयमा संघीय सरकारसँगै प्रदेश र स्थानीय तहको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गरे। तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन सके उद्धार तथा राहतका काम अझ प्रभावकारी बन्ने उनको भनाइ छ। ‘यो विपद्को अवस्थामा संघीय सरकारजस्तै प्रदेश र स्थानीय सरकारको भूमिका पनि महत्वपूर्ण छ। उहाँहरूले आफ्नो ठाउँबाट काम गरिरहनुभएको छ। तर तीन तहबीच राम्रो समन्वय गरेर अघि बढ्दा मात्रै कामको परिणाम अझ प्रभावकारी हुन्छ,’ थापाले भने।
