चिनियाँ वायुसेनाका दुई वाई–२० विमानमार्फत काठमाडौँँ आइपुग्यो ५० टन राहत सामग्री

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नेपालका लागि चीन सरकारले पठाएको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुगेको छ।

चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ट्रान्सपोर्ट विमान ५० टन राहत सामग्री बोकेर आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। राहत सामग्रीसँगै उद्धारका लागि आवश्यक उपकरणसहित चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञसमेत नेपाल आएका छन्।

विमानस्थलमा नेपाल सरकारका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राहत सामग्री ग्रहण गर्दै चिनियाँ उद्धार टोलीको स्वागत गरेका थिए। त्यस क्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र प्रतिनिधिसभा सदस्य धर्म केसी पनि विमानस्थल पुगेका थिए। चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका दुई वाई–२० विमानले कुल ५० टन तौल बराबरका १३ हजार २०० थान आपत्कालीन राहत सामग्री ल्याएका हुन्। राहत सामग्रीमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड, बिस्कुट तथा प्राथमिक उपचारका किटलगायत सामग्री रहेका छन्।

Back To Top
Modern Footer Design