बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापन र दुर्गन्ध ठूलो चुनौती बनेको छ : आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढीपछि फेला परेका शवको व्यवस्थापन तथा त्यसबाट फैलिएको दुर्गन्ध गम्भीर समस्या बन्दै गएको बताएका छन् ।

कांग्रेस कार्यालयमा आयोजित बैठकमा विपद्पछिको प्रतिकार्य र पार्टीको भूमिकाबारे धारणा राख्दै आङ्देम्बेले शव व्यवस्थापनका क्रममा कतिपय अवस्थामा मृतकका आफन्तसँग आवश्यक समन्वय र अनुमति नलिइएको गुनासोसमेत आएको बताए । उनले बाढी प्रभावित क्षेत्रमा शवबाट फैलिएको दुर्गन्धका कारण भयावह अवस्था सिर्जना भएको उल्लेख गर्दै तत्काल प्रभावकारी व्यवस्थापन आवश्यक रहेको बताए ।

‘फेला परेका शवबाट दुर्गन्ध फैलिँदा अवस्था निकै गम्भीर बनेको छ । शव व्यवस्थापन गर्दा आफन्तको अनुमति नलिइएको विषय पनि उठिरहेको छ,’ उनले भने, ‘विशेषगरी भोटेकोशी र त्रिशूली क्षेत्रमा फैलिएको दुर्गन्ध अहिले ठूलो चुनौती बनेको छ ।’ यस विषयमा आफूले प्रधानमन्त्रीलाई समेत जानकारी गराइसकेको आङ्देम्बेले बताए । प्रधानमन्त्रीसँग शनिबार भएको भेटपछि प्रभावित क्षेत्रका स्थानीय तहका नेता तथा कार्यकर्तासँग फोनमार्फत प्राप्त सूचनाका आधारमा नौबुँदे ध्यानाकर्षण गराएको उनको भनाइ छ ।

प्रभावित क्षेत्रमा तत्काल हवाई उद्धारलाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए । आङ्देम्बेले विपद्को समयमा नेपाली कांग्रेसले राजनीतिक स्वार्थभन्दा माथि उठेर पीडितको सेवामा केन्द्रित हुनुपर्नेमा जोड दिए । बाढी प्रभावित क्षेत्रमा पार्टीको झण्डा बोकेरभन्दा मानवीय सेवाको भावनासहित पुग्नुपर्ने उनको भनाइ छ । ‘यस्तो अवस्थामा पार्टीको झण्डा बोकेर बाढीपीडितको क्षेत्रमा जानुभन्दा विशुद्ध सेवाको भावनाले अघि बढ्नुपर्छ । सेवा गरेपछि जनताले आफैं पार्टीलाई चिन्नेछन्,’ उनले भने ।

Back To Top
Modern Footer Design