काठमाडौं । मनसुनी न्यून चापीय रेखा आफ्नो औसत अवस्थाभन्दा उत्तरतिर सरेसँगै देशभर मनसुनी गतिविधि सक्रिय बनेको छ। यसको प्रभावले सोमबार देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। अधिकांश क्षेत्रमा आकाश सामान्यदेखि पूर्ण बदली रहेको छ भने कोशी प्रदेशका केही तथा बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। सोमबार हिमाली तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।
त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा वर्षा हुने पूर्वानुमान छ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भू–भागसँगै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
