प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं ।प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ।

बैठकमा भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गर्ने विशेष प्रस्तावमार्फत भदौ १० गते बुधबार आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार तथा देवीघाटसहित धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्रमा भएको क्षतिप्रति प्रतिनिधिसभाले दुःख व्यक्त गर्नेछ।

बाढीका कारण ठूलो संख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनुका साथै धेरैको मृत्यु र व्यापक भौतिक क्षति भएको घटनाप्रति संसद्ले शोक व्यक्त गर्ने प्रस्तावमा उल्लेख छ। त्यस्तै, बाढीबाट घरबारविहीन भएकाहरूको उचित व्यवस्थापन तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिनेछ। यसैबीच, आज अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ।

बिहान ९ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा रसुवामा आएको बाढीपहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभावबारे छलफल हुनेछ। यस्तै, दिउँसो १२ः१५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची छ।

Back To Top
Modern Footer Design