चार प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौँमा दिउँसोपछि पानी पर्ने

काठमाडौँ । आज देशका अधिकांश क्षेत्रमा मौसम बदली रहने तथा विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा भने भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। सो क्रममा केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। मौसमविद् रोजन लामिछानेका अनुसार बिहानैदेखि कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। अन्य भू–भागमा पनि क्रमशः मौसम बदली हुने उनको भनाइ छ।

काठमाडौँ उपत्यकामा भने बिहानको समयमा मौसम तुलनात्मक रूपमा सफा रहने भए पनि अपराह्नपछि वर्षाको सम्भावना रहेको लामिछानेले बताए। उनका अनुसार उपत्यकाका केही स्थानमा मध्यम खालको वर्षा हुनसक्छ। यसैबीच, हालै बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रहरूमा थप जोखिम निम्तिन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। विशेषगरी नदी किनार तथा कमजोर भू–बनोट भएका पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

Back To Top
Modern Footer Design