विपद् व्यवस्थापनमा सरकारलाई कांग्रेसको सहयोग, सुरुङ उद्धारमा ढिलाइप्रति आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि जारी उद्धार तथा राहत अभियानमा सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

तर, बाढीका कारण सुरुङभित्र फसेका इन्जिनियर तथा श्रमिकको उद्धारमा सरकारले पर्याप्त तदारुकता नदेखाएको भन्दै कांग्रेसले प्रश्न उठाएको छ। पार्टी उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको आठौँ बैठकले प्राकृतिक विपद्का बेला राजनीतिक मतभेदलाई पर राख्दै सरकारको उद्धार तथा राहत अभियानमा साथ दिने निर्णय गरेको हो। बैठकले विपद्को समयमा उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ। तर, सुरुङभित्र मानिसहरू फसेको जानकारी हुँदाहुँदै पनि समयमै प्रभावकारी कदम चाल्न नसकेको भन्दै कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ।

कांग्रेसका अनुसार सुरुङभित्र मानिस फसेको संवेदनशील अवस्था थाहा पाएपछि प्रारम्भिक दुई–तीन दिनभित्रै आवश्यक अन्तर्राष्ट्रिय विज्ञ तथा प्राविधिक टोली झिकाएर उद्धार प्रक्रिया अघि बढाउनुपर्ने थियो। निर्माण कम्पनी तथा सम्बन्धित प्राविधिक पक्षलाई समेत समयमै उद्धारमा संलग्न गराउन नसकेको कांग्रेसको आरोप छ। कांग्रेसले विज्ञप्तिमार्फत सुरुवाती चरणमै उद्धारका लागि आवश्यक दक्ष जनशक्ति र प्रविधि परिचालन गर्न नसक्नु गम्भीर विषय भएको जनाएको छ। पार्टीले सरकारको यस्तो ढिलासुस्तीले विपद्मा परेकाप्रति थप अन्याय हुन सक्ने भन्दै तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।

यसैगरी, राहत वितरणलाई थप प्रभावकारी र व्यवस्थित बनाउन कांग्रेसले हालको एकद्वार प्रणालीको विकल्पमा स्थानीय तहलाई बढी जिम्मेवार बनाउने गरी ‘स्थानीय द्वार प्रणाली’ लागू गर्न सरकारको ध्यानाकर्षण गराएको छ। बाढीपहिरोपछि प्रभावित क्षेत्रमा आवश्यकताको वास्तविक मूल्यांकन गरी पुनर्निर्माणको योजना बनाउन कांग्रेसले विज्ञ टोलीसमेत गठन गरेको छ। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलको नेतृत्वमा गठन गरिएको टोलीले विपद्पछिको आवश्यकता अध्ययन गरी एक महिनाभित्र पुनर्निर्माणको खाका सरकारलाई बुझाउने कांग्रेसले जनाएको छ। कांग्रेसले विपद्को समयमा सरकारलाई सहयोग गर्ने नीति लिएको भए पनि उद्धार कार्यमा देखिएका कमजोरी र ढिलासुस्तीप्रति भने निरन्तर प्रश्न उठाउने संकेत गरेको छ।

Back To Top
Modern Footer Design