काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएकी ६४ वर्षीया चण्डिका श्रेष्ठ ११ दिनपछि जीवितै फेला परेकी छन्।
बाढीमा घरसहित बगेर बेपत्ता भएकी चण्डिकाको आठ दिनसम्म खोजी गर्दा पनि कुनै अत्तोपत्तो नभएपछि परिवारले उनको मृत्यु भएको ठानेर कुशको शव बनाई काजकिरिया सुरु गरिसकेको थियो। तर, काजकिरिया चलिरहेकै बेला चण्डिका जीवितै भेटिएको खबरले परिवारमा खुसी छाएको छ। नुवाकोटको विदुर नगरपालिका–१० की चण्डिकालाई सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा खटिएको टोलीले बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट अर्धचेत अवस्थामा उद्धार गरेको हो। उद्धारपछि उनलाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेक पुर्याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौंस्थित छाउनी सैनिक अस्पताल ल्याइएको छ।
चण्डिका र उनका श्रीमान् घरभित्रै रहेका बेला बाढीले करिब साढे चार तल्लाको घर नै उखेलिएजसरी बगाएको थियो। बाढीले घरलाई त्रिशूली नदीको किनारसम्म पुर्याएर अड्काएको परिवारले जनाएको छ। परिवारका सदस्यहरूले बेत्रावती र त्रिशूली नदीको किनारमा लगातार खोजी गरे पनि आठ दिनसम्म चण्डिकाको कुनै खबर पाएनन्। बाढीपछि आसपासका क्षेत्रमा शवहरू गन्हाउन थालेका कारण खोजीमा समेत कठिनाइ भएको उनीहरूले बताएका छन्। दलदलका कारण उद्धार टोलीलाई समेत घटनास्थलसम्म पुग्न समस्या भएको थियो।
लगातारको खोजीपछि पनि चण्डिका नभेटिएपछि परिवारले अन्ततः उनी जीवित नरहेको निष्कर्ष निकाल्दै काठमाडौंको सानो भर्याङस्थित घरमा काजकिरिया सुरु गरेको थियो। यद्यपि, परिवारका सदस्य रमेशमान श्रेष्ठको मनमा भने उनी कतै जीवितै हुन सक्ने आशा कायमै थियो। ११ औँ दिनमा चण्डिका जीवितै भेटिएको खबर पाएपछि परिवारमा खुसीको सीमा रहेन। छोरी र फेसबुकमार्फत खबर पाएपछि रमेशमान अस्पताल पुगेका थिए। तर, चिकित्सकले ७२ घण्टासम्म बिरामीलाई भेट्न नदिने बताएपछि उनी बाहिरैबाट चण्डिकाको अवस्था नियाल्दै बसेका छन्।
चण्डिकाका नाति पनि अस्पताल परिसरमा छन्। हजुरआमा जीवितै भेटिएको खबर पाएपछि उनी भावुक बनेका छन्। परिवारका सदस्यका अनुसार अघिल्लो दिन नातिले दिनभर भगवानको भजनसमेत गाएका थिए। ११ दिनसम्म मृत्युको शोकमा डुबेको परिवारले चण्डिकालाई जीवितै भेटेपछि अहिले घटनालाई अविश्वसनीय संयोगका रूपमा लिएको छ। परिवारका सदस्य रमेशमानले यस्तो घटनापछि आफूलाई भगवानप्रति अझ गहिरो विश्वास जागेको बताएका छन्।
