अमेरिकामा दादुरा संक्रमण बढ्दो, संक्रमितको संख्या ३ हजार नाघ्यो

अमेरिका। अमेरिकामा यस वर्ष दादुरा संक्रमण तीव्र रूपमा फैलिएको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार बिहीबारसम्म देशभर ३ हजार १ सय ३४ जनामा दादुरा संक्रमण पुष्टि भएको छ।

गत वर्ष अर्थात् सन् २०२५ मा वर्षभरि २ हजार २ सय ८९ जनामा संक्रमण देखिएको थियो। यस वर्षको संख्या त्यसको तुलनामा निकै बढी हो। सीडीसीका अनुसार सन् १९९१ यता अमेरिकामा एकै वर्षमा देखिएको यो सबैभन्दा धेरै दादुरा संक्रमण हो। यस वर्ष संक्रमितमध्ये ३ हजार १ सय १८ जना अमेरिकाका ४७ राज्य तथा क्षेत्रका रहेका छन् भने १६ जना अन्तर्राष्ट्रिय आगन्तुक हुन्। संक्रमितमध्ये २४८ जना अस्पताल भर्ना भएका छन्, जुन कुल संक्रमितको करिब ८ प्रतिशत हो। त्यस्तै, हालसम्म ३८ वटा दादुरा प्रकोपसमेत पुष्टि भएको छ।

सीडीसीका अनुसार संक्रमितमध्ये करिब ९४ प्रतिशतले दादुराविरुद्धको खोप लगाएका छैनन्। संक्रमणबाट जोगिन दादुरा, गलफुलो र रुबेला (एमएमआर) विरुद्धको खोपको दुई मात्रा लगाउन केन्द्रले सुझाव दिएको छ। अमेरिकामा बालबालिकाको खोप दरसमेत पछिल्लो समय घटेको देखिएको छ। सन् २०२५–२६ को शैक्षिक वर्षमा एमएमआर खोप लगाएका बालबालिकाको दर ९२ दशमलव ४ प्रतिशतमा झरेको छ। सन् २०१९–२० मा यस्तो दर ९५ दशमलव २ प्रतिशत थियो। अहिले करिब २ लाख ८० हजार बालबालिकासँग खोपको पूर्ण मात्रा लगाएको प्रमाणित अभिलेख नरहेको जनाइएको छ। सीडीसीका अनुसार कुनै समुदायमा ९५ प्रतिशतभन्दा बढी मानिसले खोप लगाएका छन् भने सामुदायिक प्रतिरक्षाका कारण दादुरा फैलिने जोखिम उल्लेख्य रूपमा कम हुन्छ।

Back To Top
Modern Footer Design