काठमाडौं । नेपाली कांग्रेसले जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूको सपना कुनै राजनीतिक दल वा व्यक्तिको व्यक्तिगत उपलब्धि नभएको बताएको छ।
कांग्रेसले उनीहरूले उठाएका सवाललाई राज्यको नीति, शासन प्रणाली र व्यवहारमै देखिने परिवर्तनका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको छ। जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार कांग्रेस नेता भीष्मराज आङ्देम्बेले विज्ञप्ति जारी गर्दै शहीदहरूको सपना नेपाली समाजको साझा परिवर्तनको आकांक्षा भएको बताएका हुन्। उनका अनुसार जेनजीको बलिदानलाई सत्ता प्राप्त गर्ने माध्यमका रूपमा प्रयोग गरेर आन्दोलनले उठाएका मूल मुद्दालाई ओझेलमा पार्न मिल्दैन।
आङ्देम्बेले सरकारले आफूलाई जेनजी आन्दोलनबाट प्राप्त राजनीतिक परिवर्तनको प्रतिनिधि ठान्ने हो भने आफ्नो शासनशैली पनि युवाहरूको अपेक्षा र मूल्य–मान्यताअनुसार भएको प्रमाणित गर्नुपर्ने बताएका छन्। उनले सरकारलाई आलोचनालाई विरोध वा शत्रुताका रूपमा नलिन, प्रश्न गर्ने नागरिकप्रति दण्डात्मक व्यवहार नगर्न तथा राज्य संयन्त्रलाई पारदर्शी, जवाफदेही र जनमुखी बनाउन आग्रह गरेका छन्। त्यस्तै, आन्दोलनका क्रममा घाइते भएकाहरूको दीर्घकालीन उपचार, पुनर्स्थापना र आवश्यक सहयोगको व्यवस्था गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
आन्दोलनका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस कार्यान्वयन गर्नुपर्ने कांग्रेसको माग छ। आङ्देम्बेले २३ भदौको प्रदर्शनमा भएको अत्यधिक बल प्रयोग, आन्दोलनमा भएको भनिएको घुसपैठ तथा २४ भदौमा भएका आगजनी र तोडफोडका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्। उनले घटनामा संलग्न व्यक्ति वा समूह जोसुकै भए पनि राजनीतिक संरक्षणका आधारमा उन्मुक्ति दिन नहुने स्पष्ट पारेका छन्। आङ्देम्बेका अनुसार २३ भदौमा अत्यधिक बल प्रयोग गर्ने जिम्मेवार व्यक्ति, २४ भदौमा आगजनी तथा तोडफोडमा संलग्न र आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेल्ने भनिएका व्यक्ति तथा समूह सबैमाथि निष्पक्ष अनुसन्धान आवश्यक छ।
