जापानमा नेपाली युवतीको हत्या आरोपमा तीन नेपाली पक्राउ

टोकियो । जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या भएको घटनामा प्रहरीले तीन नेपाली नागरिकलाई पक्राउ गरेको छ।

जापान प्रहरीका अनुसार पक्राउ पर्नेमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्ने २५ वर्षीया अमिस्ता तामाङ र सोही स्थानका २२ वर्षीय प्रबिन लामा छन्। झापाको चन्द्रगढीकी २५ वर्षीया लक्ष्मी राजवंशी गत १९ अगस्टमा फुकुओकाको एक खोलामा मृत अवस्थामा फेला परेकी थिइन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनको टाउकोमा प्रहार गरी घाँटीमा डोरीले कसेपछि बरन्डाबाट नदीमा खसालिएको हुनसक्ने आशंका गरिएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले तीनै जनालाई हत्या आरोपमा पक्राउ गरेको हो। यद्यपि, पक्राउ परेका व्यक्तिहरूले आफूहरूमाथि लागेको आरोप स्वीकार गरेका छन् वा अस्वीकार गरेका छन् भन्ने विषयमा जापान प्रहरीले अहिलेसम्म केही सार्वजनिक गरेको छैन।

Back To Top
Modern Footer Design