अमेरिका । चोटका कारण प्रतियोगितामा सहभागी हुने नहुने अन्योलबीच यूएस ओपनमा कोर्ट उत्रिएकी काजाकिस्तानकी इलेना रिबाकिनाले महिला एकलतर्फको उपाधि जितेकी छन्।
आर्थर एश स्टेडियममा भएको फाइनलमा रिबाकिनाले विश्वस्तरीय प्रतिद्वन्द्वी आर्यना सबालेन्कालाई ६–४, ५–७, ६–२ को सेटमा पराजित गर्दै यूएस ओपनको उपाधि आफ्नो नाममा गरेकी हुन्। २७ वर्षीया रिबाकिनाका लागि यो तेस्रो ग्र्यान्ड स्ल्याम उपाधि हो। यो सफलतासँगै उनी आगामी सोमबार सार्वजनिक हुने डब्लूटीए वरीयतामा पहिलोपटक विश्व नम्बर १ खेलाडी बन्नेछिन्।
यूएस ओपन सुरु हुनुभन्दा करिब तीन साताअघि सिन्सिनाटी ओपनको क्वाटरफाइनलमा इगा स्वाटेकविरुद्ध खेल्ने क्रममा रिबाकिनाको एसेलिसमा चोट लागेको थियो। चोटका कारण उनले लगातार सात दिन र्याकेटसमेत समाउन पाएकी थिइनन्। न्युयोर्क पुगेपछि गरिएको एमआरआईको रिपोर्ट पनि राम्रो नआएको उनले बताइन्। चिकित्सकहरूसँग परामर्श गरेपछि प्रतियोगिता सुरु हुनुभन्दा चार दिनअघि मात्रै हल्का अभ्यास सुरु गरेको रिबाकिनाले उपाधि जितेपछि बताएकी छन्।
प्रतियोगिताको सुरुवाती चार खेलमा एक सेट पनि नगुमाएकी उनले उपाधिको यात्रामा तीन पूर्व ग्र्यान्ड स्ल्याम विजेता र पछिल्लो ओलम्पिककी स्वर्ण पदक विजेतालाई समेत पराजित गरिन्। निर्णायक सेटमा रिबाकिनाले आफ्नो शक्तिशाली सर्भिस र आक्रामक खेललाई प्रभावकारी रूपमा प्रयोग गर्दै सबालेन्कामाथि दबाब बनाइराखिन्। यसअघि नै सेमिफाइनल जित्दै विश्व नम्बर १ बन्ने पक्का गरेकाले फाइनल खेलमा आफू केही सहज र दबाबमुक्त भएर खेल्न सकेको उनले बताइन्। रिबाकिनाले यसअघि सन् २०२२ मा विम्बल्डन तथा यही वर्षको सुरुवातमा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। यूएस ओपनको यो सफलतासँगै उनको ग्र्यान्ड स्ल्याम उपाधिको संख्या तीन पुगेको छ।
