खाद्यवस्तुको मूल्यवृद्धिमाथि संसद्‌मा प्रश्न : महंगी नियन्त्रण गर्न सरकारको योजना के छ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदनकुमार भण्डारीले ग्यास अभाव र लामो लाइनसँगै दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा सर्वसाधारण थप मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भण्डारीले पछिल्लो एक महिनामा विभिन्न खाद्य सामग्रीको मूल्य उल्लेख्य रूपमा बढेको विवरण प्रस्तुत गरे। उनका अनुसार २५ किलोको जिरा मसिनो चामलको मूल्य २ हजार २ सय रुपैयाँबाट बढेर २ हजार ६ सय पुगेको छ। त्यस्तै, २० किलोको लङ ग्रेन चामल ३ हजार २ सयबाट बढेर ३ हजार ६ सय रुपैयाँ पुगेको उनले बताए।

दालको मूल्य पनि बढेको उनको भनाइ छ। मासको दाल प्रतिकिलो १४० रुपैयाँबाट बढेर २०० रुपैयाँ पुगेको छ भने रहरको दाल १९० बाट २१० रुपैयाँ पुगेको उनले संसद्‌मा जानकारी गराए। तेलको मूल्य पनि बढेको भन्दै भण्डारीले सूर्यमुखी तेल २८० रुपैयाँबाट ३१० र भटमासको तेल २७० बाट ३०० रुपैयाँ पुगेको बताए। उनका अनुसार चिनीको मूल्य प्रतिकिलो १४० रुपैयाँ नाघेको छ भने अण्डाको मूल्य प्रतिक्रेट ६०० रुपैयाँ पुगेको छ।

खाद्यवस्तुको मूल्य यसरी बढिरहँदा यसको कारणबारे सरकारले स्पष्ट पार्नुपर्ने सांसद भण्डारीको माग छ। उनले प्रश्न गरे, ‘अनियन्त्रित ढंगले मूल्यवृद्धि भइरहेको छ। यसको कारण के हो? मूल्यवृद्धि नियन्त्रण गर्न सरकार र सम्बन्धित मन्त्रालयको योजना के छ?’ मूल्यवृद्धि नियन्त्रणका लागि संघीय सरकारसँगै प्रदेश र स्थानीय तह तथा सम्बन्धित निकायले बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए। सांसद भण्डारीले ग्यास अभाव, मूल्यवृद्धि र दैनिक उपभोग्य वस्तुको महंगीबाट प्रभावित नागरिकलाई राहत दिने गरी सरकारले तत्काल कदम चाल्नुपर्ने बताए।

Back To Top
Modern Footer Design