स्याङ्जाको नवग्रह मन्दिर प्रवर्द्धन गर्न सरकारसँग सचेतक राईको माग

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको नवग्रह मन्दिरको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै राईले धार्मिक आस्था र पर्यटनको दृष्टिले महत्वपूर्ण सम्भावना बोकेको मन्दिर आवश्यक पूर्वाधार र प्रचारप्रसारको अभावमा अपेक्षित रूपमा प्रवर्द्धन हुन नसकेको बताए। उनका अनुसार मन्दिरमा धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ। यसबाट स्थानीय व्यापार, होटल, यातायात तथा रोजगारीका अवसरमा समेत सकारात्मक प्रभाव परेको छ। त्यसैले मन्दिरको पूर्वाधार विकाससँगै यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न सरकारले आवश्यक बजेट छुट्याउनुपर्ने उनको माग छ।

राईले धार्मिक पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्दै क्षेत्रको विकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्न पनि सरकारको ध्यानाकर्षण गराए। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित जलबराह धार्मिक वन परिसरमा रहेको यो नवग्रह मन्दिर पछिल्लो समय जिल्लाको धार्मिक तथा पर्यटकीय आकर्षणका रूपमा विकास हुँदै गएको छ। मन्दिर निर्माणसँगै आसपासका क्षेत्रमा धार्मिक पर्यटकको आवागमन बढेको र स्थानीय व्यवसायमा समेत चहलपहल थपिएको बताइएको छ। राईले नेपाली कांग्रेसले जिल्लाको समन्वयका लागि आफूलाई स्याङ्जाको जिम्मेवारी दिएको सन्दर्भमा मन्दिरको संरक्षण तथा प्रवर्द्धनको विषय संसद्मा उठाएका हुन्।

Back To Top
Modern Footer Design