देशभर मनसुन र पश्चिमी वायुको प्रभाव, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि आंशिक बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा पनि वर्षा हुनसक्ने जनाइएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्छ। देशका तराई भूभागका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। बाँकी तराई भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। यस्तै, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बागमती प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि चट्याङसहित वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

तराईतर्फ कोशी प्रदेशका केही स्थान तथा मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। मौसमका कारण सम्भावित वर्षा, चट्याङ तथा भारी वर्षाबाट प्रभावित हुनसक्ने क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

Back To Top
Modern Footer Design