धनुषाका ३८८ परिवारले पाए करिब ९ वर्षपछि लालपुर्जा

काठमाडाैँ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) पाएका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका उनीहरूको जग्गा स्वामित्व अब औपचारिक रूपमा स्थापित भएको छ।

२ असोज, धनुषा । साविक रमदैया भवाडी गाविसका वडा नम्बर २, ३, ४, ६, ७ र ८ अन्तर्गत पर्ने क्षिरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारलाई नापी कार्यालय धनुषाले जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो। उक्त क्षेत्रमा जग्गाको नापजाँच २०७४ सालमै सम्पन्न भएको थियो। तर नापजाँच सकिए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा स्थानीयले लामो समयसम्म लालपुर्जा पाउन सकेका थिएनन्।

रोकिएको प्रक्रिया अघि बढाउँदै नापी कार्यालयले अहिले ३८८ परिवारलाई लालपुर्जा उपलब्ध गराएको हो। लालपुर्जा पाएसँगै उनीहरूले आफ्नो जग्गामाथिको कानुनी स्वामित्व प्रमाणित गर्न सक्ने भएका छन्। जग्गाको स्वामित्व औपचारिक रूपमा स्थापित भएपछि स्थानीयलाई आर्थिक तथा कानुनी दुवै रूपमा सहज हुने बताइएको छ। उनीहरूले जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सक्नेछन् भने स्वामित्वसँग जोडिएका विवाद समाधान गर्नसमेत सहज हुने मन्त्रालयले जनाएको छ। यसअघि धनुषामा ३ हजार ९६६ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको थियो।

Back To Top
Modern Footer Design