१ बजेका लागि बोलाइएको एमाले सचिवालय बैठक ३ बजे बस्ने

काठमाडौं । नेकपा एमालेको आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय सचिवालय बैठक निर्धारित समयमा बस्न सकेन। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक जारी रहेकाले सचिवालय बैठकको समय सारिएको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओली दिउँसो १ बजे नै च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पुगेका थिए। तर सचिवालय बैठक तत्काल बस्न नसकेपछि उनी करिब आधा घण्टा पार्टी कार्यालयमा बसेर बाहिरिएका छन्। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार अब सचिवालय बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक सम्पन्न नभएकाले सचिवालय बैठकको समय परिवर्तन गरिएको उनले बताए।

उनका अनुसार बिहान ९ बजेदेखि नै च्यासलमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक चलिरहेको छ। कार्यदलको बैठक नसकिएपछि बीचमा खाना खाने समय राखिएको र त्यसपछि बैठक पुनः बसेर काम टुंग्याइनेछ। सचिव अधिकारीले कार्यदलको बैठक सकिएपछि मात्रै सचिवालय बैठक बस्ने जानकारी दिएका छन्।

Back To Top
Modern Footer Design