काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफैँ बसभित्र बसेर आगो लगाएका छन्। बा ५ ख ४२७४ नम्बरको बसका २५ वर्षीय चालक दावा लामाले सोमबार यस्तो कदम चालेका हुन्।
प्रहरीका अनुसार घटनाका बेला बसमा कुनै यात्रु थिएनन्। चालकले बसभित्रै आगो लगाएपछि आगो तीव्र रूपमा फैलिएको थियो। घटनालगत्तै दमकल पुगेर आगो नियन्त्रणमा लिएको थियो। आफैँले लगाएको आगोबाट जलेर घाइते भएका चालक लामालाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।
चालकले बसमा आगो लगाउनुको वास्तविक कारण खुलिसकेको छैन। यद्यपि, ट्राफिक प्रहरीसँगको विवादपछि आक्रोशित भएर उनले यस्तो कदम चालेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले घटना भर्खरै भएकाले विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रहरीले घटनाको कारण र अन्य विवरणबारे अनुसन्धान अघि बढाएको छ।
