११ दिनपछि पुरिएको घरबाट उद्धार भएकी चण्डिकाको स्वास्थ्यमा सुधार

काठमाडौं । रसुवाको बाढीमा घाइते भएर आफ्नै पुरिएको घरबाट ११ दिनपछि उद्धार गरिएकी ६३ वर्षीया चण्डिका श्रेष्ठको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

बाढीले घरसहित बगाएर पुर्‍याएपछि उद्धार गरिएकी श्रेष्ठ अहिले अस्पतालको प्लास्टिक सर्जरी विभागमा उपचाररत छिन्। चिकित्सकका अनुसार उनको दाहिने घुँडा र तिघ्रामा चोट लागेको छ। घाउ गम्भीर भएकाले त्यसलाई छालाले ढाक्न सोमबार स्किन ग्राफ्टिङ अर्थात् छाला प्रत्यारोपण गर्ने तयारी गरिएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार अहिले चण्डिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

स्किन ग्राफ्टिङ गरेपछि प्रत्यारोपण गरिएको छाला शरीरमा राम्रोसँग बस्न करिब एक सातादेखि १० दिनसम्म लाग्न सक्छ। त्यसैले उनलाई थप एकदेखि दुई हप्तासम्म अस्पतालमै राखेर उपचार गर्नुपर्ने हुनसक्ने चिकित्सकले बताएका छन्। चण्डिकालाई गत १० भदौमा बाढीले बगाएको घरभित्रबाट उद्धार गरिएको थियो। बाढीले उनको घर मूल स्थानबाट करिब ५० मिटर परसम्म बगाएर पुर्‍याएको थियो। त्यही पुरिएको घरभित्रबाट ११ दिनपछि उनको सकुशल उद्धार गरिएको हो। बाढीको चपेटामा परेर लामो समय घरभित्रै पुरिएकी चण्डिकाको उद्धारपछि अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

Back To Top
Modern Footer Design