अमेरिका । संयुक्त राष्ट्रसंघको महासभाका क्रममा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नभए ‘इरानलाई ध्वस्त पार्ने’ चेतावनी दिएको दिन अमेरिका र इरानका उच्च अधिकारीबीच न्यूयोर्कमा वार्ता भएको छ।
कतारको मध्यस्थतामा भएको वार्तामा इरानका विदेशमन्त्री अब्बास अराघ्ची र अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विट्कफ सहभागी थिए। जुन महिनामा भएको युद्धविराम असफल भएपछि दुई देशबीच भएको यो पहिलो प्रत्यक्ष वार्ता हो। वार्ताबाट तत्काल कुनै ठोस सहमति भएको घोषणा गरिएको छैन। तर अमेरिकी विशेष दूत विट्कफले वार्ता सकिएपछि छलफल ‘रचनात्मक र आशाजनक’ हुने आशा व्यक्त गरेका छन्।
इरानले भने अमेरिकाले आफूविरुद्धका ‘आक्रामक गतिविधि’ अन्त्य गर्नुपर्ने आफ्नो माग दोहोर्याएको छ। अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानमाथि हवाई हमला सुरु गरेका थिए। त्यसपछि इरानले इजरायल, खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा तथा अमेरिकाका सहयोगी अरब राष्ट्रहरूमा आक्रमण गरेको थियो। इरानले स्ट्रेट अफ हर्मुजमा पनि आवतजावत अवरुद्ध गरेको थियो।
युद्धअघि विश्वमा प्रयोग हुने करिब २० प्रतिशत तेल तथा तरलीकृत प्राकृतिक ग्यास स्ट्रेट अफ हर्मुज हुँदै ओसारपसार हुने गरेको थियो। यो मार्ग बन्द भएपछि विश्व बजारमा तेलको मूल्यमा ठूलो उतारचढाव आएको छ। युद्ध अन्त्य गर्न सम्झौता खोज्न अमेरिकी राष्ट्रपति ट्रम्पमाथि दबाब पनि बढेको छ। विशेषगरी आगामी नोभेम्बरमा अमेरिकामा कंग्रेसका निर्वाचन हुँदैछन्। मंगलबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै ट्रम्पले अर्थतन्त्र, आप्रवासन, सीमा सुरक्षा र हिंसात्मक अपराध नियन्त्रणलगायत आफ्ना उपलब्धिहरूको चर्चा गरेका थिए।
त्यसपछि उनले इरानसँगको युद्धको बचाउ गर्दै आफ्नो नीतिलाई ‘शक्तिमार्फत शान्ति’ कायम गर्ने रणनीतिका रूपमा प्रस्तुत गरे। ट्रम्पले भने, “इरानसँग यस्तो सम्झौता हुन्छ, जसले उसलाई पहिलेभन्दा अझ ठूलो राष्ट्र निर्माण गर्न दिनेछ? कि म इस्लामिक गणतन्त्रलाई ध्वस्त पार्छु र त्यो पनि छिट्टै?” उनले नोभेम्बरको निर्वाचनपछि इरानसँग सम्झौता हुन सक्ने विश्वास व्यक्त गरेका छन्। ट्रम्पको यस्तो अभिव्यक्तिलाई बीबीसीले वार्ता खुला राख्दै अत्यधिक सैन्य दबाबमार्फत सम्झौता गराउने रणनीतिका रूपमा व्याख्या गरेको छ।
पछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकी र इरानी प्रतिनिधिमण्डलबीच तीन घण्टासम्म भएको बैठकलाई ‘धेरै फलदायी’ भएको बताएका थिए। इरानको सरकारी टेलिभिजनले पनि विदेशमन्त्री अब्बास अराघ्चीले अमेरिकी विशेष दूत विट्कफसँग भेटवार्ता गरेको पुष्टि गरेको छ।इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईका अनुसार कतारका मध्यस्थमार्फत वार्ता भएको थियो। उनका अनुसार तेहरानले सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने र अमेरिकाले ‘आक्रामक गतिविधि’ रोक्नुपर्ने सर्त राखेको छ। विट्कफले संयुक्त राष्ट्रसंघको भवनबाट बाहिरिँदै गर्दा वार्ता कस्तो भयो भन्ने प्रश्नमा हातको बूढी औँला उठाएर सकारात्मक संकेत दिएका थिए।
पछि सामाजिक सञ्जाल एक्समा उनले मध्यस्थकर्तामार्फत दिनभर दुवै पक्षबीच छलफल भएको र एक चरणको वार्ता सफलतापूर्वक सम्पन्न भएको बताएका छन्। उनले मध्यस्थकर्ताहरूले आफ्नो काम जारी राख्ने पनि बताएका छन्। युद्धविराम भंग भएपछि अमेरिका र इरानबीच बेलाबेलामा आक्रमण र प्रतिआक्रमण जारी छ। इरानले अनुमति नलिई स्ट्रेट अफ हर्मुज पार गर्न खोजेका भन्दै केही पानीजहाजमाथि आक्रमण गरेको छ। अमेरिकाले पनि उक्त क्षेत्रमा रहेका इरानी सैन्य संरचना तथा इरानी तट नजिकका तेल ट्याङ्करमाथि हमला गरेको छ।
अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दीसमेत कायम राखेको छ, जसका कारण इरानको अर्थतन्त्रमा ठूलो असर परेको बताइएको छ। तेहरानलाई सम्झौतामा ल्याउन ट्रम्पले इरानसँग व्यापार जारी राख्ने देशमाथि प्रतिबन्ध लगाउने चेतावनी पनि दिएका छन्। तर इरानले आफ्नो अडान परिवर्तन गरेको संकेत देखाएको छैन। इरानले अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध अन्त्य गर्नुपर्ने बताउँदै आएको छ। यसमा इरानसँग सम्बन्धित लेबनानस्थित शिया समूह हिजबुल्लाहविरुद्ध इजरायलले गरिरहेको सैन्य कारबाही पनि समावेश छ। इरानसँग गठबन्धनमा रहेको यमनको हुथी समूहले पनि साउदी अरबबाट हुने तेल ढुवानीमा अवरोध पुर्याउने उद्देश्यले हालै आक्रमण तीव्र बनाएको छ। यसका कारण साउदी अरबसँगको द्वन्द्वसमेत थप चर्किएको छ।
