जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

काठमाडौं । जलन भएका बिरामीको उपचारमा दक्ष विशेषज्ञ जनशक्ति उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले ३० दिने विशेषज्ञस्तरीय तालिम सुरु गरेको छ।

जलन उपचारको राष्ट्रिय मापदण्डअनुसार तेस्रो तहको सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति तयार पार्ने लक्ष्यसहित तालिम आयोजना गरिएको हो। तालिमको पहिलो समूह कीर्तिपुर अस्पतालमा प्राडा शंकरमान राईको नेतृत्वमा सुरु भएको छ। तालिम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरण असोज ७ देखि ३० गतेसम्म र दोस्रो चरण कात्तिक ९ देखि १८ गतेसम्म चल्नेछ। पहिलो समूहमा मधेश प्रदेशको नारायणी अस्पताल र कर्णाली प्रदेशको प्रदेश अस्पतालबाट चार–चार जना गरी आठ जना स्वास्थ्यकर्मी सहभागी छन्।

तालिममा शल्य चिकित्सक, सामान्य चिकित्सा विशेषज्ञ तथा शल्यकक्ष, सघन उपचार कक्ष र आकस्मिक सेवामा कार्यरत स्वास्थ्यकर्मी सहभागी छन्। उनीहरूलाई जलन भएका बिरामीको आकस्मिक उपचारदेखि शल्यक्रिया, घाउको मूल्याङ्कन तथा व्यवस्थापन, छाला प्रत्यारोपण, सघन उपचार, तरल पदार्थ व्यवस्थापन, संक्रमण नियन्त्रण, पोषण तथा दुखाइ व्यवस्थापनका विषयमा प्रशिक्षण दिइनेछ। साथै जलन उपचार कक्ष सञ्चालन र व्यवस्थापनसम्बन्धी प्रयोगात्मक ज्ञानसमेत प्रदान गरिनेछ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको २०८३ साउन ६ गतेको निर्णयअनुसार जलन उपचार कक्ष स्थापना भएका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गरी यो तालिम सञ्चालन गरिएको हो। तालिम पूरा गरेपछि सम्बन्धित अस्पतालमै जलन उपचार कक्ष तथा वार्ड स्थापना, विस्तार र सुदृढीकरण गरी विशिष्टीकृत सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति उपलब्ध हुने अपेक्षा गरिएको छ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका अनुसार यसअघि आधारभूत जलन उपचारसम्बन्धी ११ समूहमा १९९ जना र प्राथमिक जलन उपचारसम्बन्धी २३ समूहमा ३६४ जना स्वास्थ्यकर्मीलाई तालिम दिइसकिएको छ। विशेषज्ञ जनशक्ति अस्पतालमै उपलब्ध हुन थालेपछि जलनका बिरामीलाई उपचारका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता घट्ने र सम्बन्धित अस्पतालबाटै विशिष्टीकृत सेवा दिन सहज हुने अपेक्षा गरिएको छ।

Back To Top
Modern Footer Design