बिहीबारदेखि लामो र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

काठमाडौं । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि असोज १२ गतेसम्म अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै यात्रा गर्नैपर्ने अवस्था भए पनि सडकको अवस्था र मौसमबारे जानकारी लिएर मात्रै यातायात सञ्चालन तथा यात्रा गर्न आग्रह गरेको हो। विशेषगरी रातिको समयमा यात्रा नगर्न महासंघले सर्वसाधारणलाई अनुरोध गरेको छ। सडकमा बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन भनिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसअघि नै सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिसकेको थियो। सोही अनुरूप महासंघले आफ्ना सदस्य यातायात व्यवसायीलाई पनि सचेत गराएको जनाएको छ। यसैबीच, मौसममा आएको परिवर्तनसँगै यो साता विभिन्न क्षेत्रमा अविरल वर्षाको सम्भावना रहेको र त्यसका कारण सडकमा बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै सरकारले समेत सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।

Back To Top
Modern Footer Design