काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा तीव्र गिरावट देखिएको छ। बजारका प्रमुख सूचकहरू घट्दा अधिकांश कम्पनीको सेयर मूल्य पनि ओरालो लागेको छ।
बुधबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३६ दशमलव २५ अंक अर्थात् १ दशमलव ३६ प्रतिशतले घटेर २ हजार ६ सय १८ अंकमा कायम भएको छ। नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। मंगलबार ७ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार कारोबार रकम घटेर ६ अर्ब ३५ करोड रुपैयाँमा सीमित भएको छ।
बुधबार जीवन बीमा समूह सबैभन्दा धेरै २ दशमलव ०४ प्रतिशतले घटेको छ। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्सलगायत सबै समूहमा गिरावट आएको छ। समग्र बजारमा २३ कम्पनीको सेयर मूल्य बढ्दा २५३ कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ। बढ्ने कम्पनीमध्ये धौलागिरि लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। त्यस्तै सीवाईसी लघुवित्त, विकास हाइड्रोपावर, बोटलर्स नेपाल बालाजु र मिडसोलु हाइड्रोपावरको मूल्य पनि बढेको छ।
यता फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य ८ दशमलव ५४ प्रतिशतले घटेको छ। माउन्ट एभरेस्ट पावर, इङवा हाइड्रोपावर र पियोर इनर्जीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। बुधबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन डिस्टिलरी, लक्ष्मी सनराइज बैंक, आँखुखोला जलविद्युत् र घलेम्दी हाइड्रोपावर अगाडि रहेका छन्। समग्रमा बुधबार सेयर बजारमा बिक्री चाप बढ्दा नेप्सेसहित कारोबार रकम र अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।
