काठमाडौं । संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
बैठकमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री सोबिता गौतमले ‘निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने तथा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको संसद् सचिवालयले जनाएको छ।यसैगरी, राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे सुरु हुनेछ। बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा अध्यक्षले जानकारी गराउने कार्यसूची छ।
राष्ट्रिय सभाको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रमसमेत रहेको छ। त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नेछन्। विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले समितिको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पनि राष्ट्रिय सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
