काठमाडौं । आगामी केही दिन देशभर वर्षा हुने पूर्वानुमानपछि सुरक्षा निकायले सम्भावित जोखिम क्षेत्र पहिचान गरी पूर्वतयारी तीव्र बनाएको छ। सुरक्षा निकायका अनुसार देशभर ६४९ स्थानलाई सम्भावित जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको छ।
विशेषगरी धेरै वर्षाको सम्भावना रहेका गण्डकी र लुम्बिनी प्रदेशमा सुरक्षा सतर्कता बढाइएको छ। विपद् व्यवस्थापनसम्बन्धी तालिम लिएका सुरक्षाकर्मीलाई यी प्रदेशमा थप जनशक्तिका रूपमा पठाइएको नेपाल प्रहरीका डीआईजी अबि नारायण काफ्लेले जानकारी दिए। उनका अनुसार नदी तथा खोलाको तटीय क्षेत्रमा स्थानीयलाई सचेत गराउन माइकिङसमेत सुरु गरिएको छ। बागमती प्रदेशका रोशी, सुनकोशी, त्रिशूली र इन्द्रावती तथा मधेस प्रदेशका बलान र बिहुल खोलाका तटीय क्षेत्रसँगै काठमाडौं उपत्यकाका नदी किनारमा पनि पूर्वसूचना दिने काम भइरहेको छ।
वर्षाका कारण जोखिम बढ्न सक्ने आकलन गरिएका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक तयारीसहित परिचालन गरिएको छ। नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रबाट तालिम प्राप्त सुरक्षाकर्मीलाई गण्डकी र लुम्बिनीमा थप गरिएको डीआईजी काफ्लेले बताए। सशस्त्र प्रहरी बलका अनुसार ११ हजार ७६३ सुरक्षाकर्मी जोखिमपूर्ण क्षेत्रमा परिचालन भएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको योजनाअनुसार सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीका डीआईजी नेत्रबहादुर कार्कीले बताए।
सशस्त्र प्रहरीले सम्भावित उद्धारका लागि ८२ वटा र्याफ्ट बोट र ५३ वटा मोटर बोट तयारी अवस्थामा राखेको छ। तालिम प्राप्त गोताखोर तथा मेडिकल टोलीसमेत जोखिम क्षेत्रमै परिचालन गरिएको छ। नदी तथा खोलाको किनारमा दाउरा संकलन गर्न वा अन्य कामका लागि जाने स्थानीयलाई सम्भावित जोखिमबारे जानकारी गराउने र सुरक्षित स्थानमा रहन सचेत गराउने काम पनि भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, जोखिम पहिचान भएका क्षेत्रमा खोज तथा उद्धारका लागि ड्रोन सञ्चालन गर्न सक्ने टोलीसमेत तयारी अवस्थामा राखिएको छ। मधेस प्रदेशमा मात्रै ७४ स्थान जोखिमपूर्ण क्षेत्रका रूपमा पहिचान भएका छन्। कमला, चारनाथ, बलान र बिहुल खोलाका तटीय क्षेत्रलाई विशेष जोखिममा राखिएको छ। काठमाडौं उपत्यकामा पनि ५२ स्थान जोखिमपूर्ण पहिचान गरिएको छ। मौसम आगामी ११ गतेसम्म सक्रिय रहने पूर्वानुमान रहेकाले सो अवधिभर जोखिम क्षेत्रको अवस्था हेरेर सुरक्षाकर्मी परिचालन गरिने सशस्त्र प्रहरीले जनाएको छ। नेपाल प्रहरीका डीआईजी काफ्लेले जिल्ला विपद् व्यवस्थापन समितिको योजनाअनुसार सुरक्षा निकायले आवश्यक तयारी अघि बढाएको बताए। उनका अनुसार विपद् आइपरे तत्काल उद्धार तथा प्रतिकार्य गर्न सक्ने गरी व्यापक तयारी गरिएको छ।
