सुरुङमा १० दिनपछि जीवित उद्धार गरिएका कबीर महर्जन अस्पतालबाट घर फर्किए

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङमा १० दिनसम्म फसेपछि जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कबीर महर्जन अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएपछि उनलाई शुक्रबार अस्पतालबाट घर पठाइएको हो। ललितपुरस्थित निवास फर्किएका महर्जनलाई स्थानीय तथा आफन्तहरूले फूलमाला लगाएर स्वागत गरेका छन्। गत भदौ १० गते आएको भीषण बाढीपछि महर्जन जलविद्युत आयोजनाको सुरुङभित्र फसेका थिए। लामो समय सुरुङभित्र रहेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनलाई जीवितै उद्धार गरेको थियो।

उद्धारपछि उपचारका लागि अस्पताल भर्ना गरिएका महर्जनको स्वास्थ्य अवस्थालाई चिकित्सकहरूले निरन्तर निगरानीमा राखेका थिए। लामो समयको शारीरिक तथा मानसिक तनावपछि उनको स्वास्थ्यमा क्रमशः सुधार आएको थियो। अस्पतालबाट बाहिरिँदा महर्जन सामान्य अवस्थामा देखिएका थिए। घर फर्किने क्रममा विभिन्न स्थानमा स्थानीयले उनलाई फूलमाला लगाएर स्वागत गर्दै स्वास्थ्य लाभको शुभकामना दिएका थिए। महर्जनले कठिन अवस्थामा आफूलाई सुरक्षित रूपमा उद्धार गर्ने सुरक्षाकर्मी तथा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका छन्।

Back To Top
Modern Footer Design